काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालयको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहेका छन ।
यसैगरी जनसंगठनका अध्यक्ष र महासचिवका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू परिचालन कमिटीमा रहने एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । प्रचार बिभाग प्रमुख गुरुङका अनुसार भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
भदौ २० गते सबै उम्मेद्वार सिफारिस हुँने
एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिनुभयो । क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ ।
एमालेको यो निर्णयसँगै सबै स्थानीय कमिटीहरु सक्रिय हुने भएका छन् ।
चार जना केन्द्रीय सदस्यमा मनोनित
च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।
एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्