काठमाडौं । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस गरेका हुन ।
सदस्य मिश्रले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ पनि राष्ट्रिय सभामा पेस गरे।
राष्ट्रियसभा बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेकाे योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ ।
त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेकाे प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेकाे शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पनि वहुमतले स्वीकृत भएको छ ।
बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६ पेस गरे ।
प्रतिक्रिया दिनुहोस्