Ads

तेस्रो चरणको मतदान, मोदीलाई रोक्नु राहुललाई फलामको चिउरा


काठमाडौं । भारतमा लोकसभा निर्वाचनअन्तर्गत मंगलबार तेस्रो चरणको मतदान हुँदै छ । संसद्‌को तल्लो सदन लोकसभाका ५४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ ।

यसअघि १९ र २६ अप्रिलमा गरी १९० सिटका लागि मतदान भइसकेको छ । यो लोकसभा निर्वाचनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने महत्त्वाकांक्षामा छन् भने कंग्रेस नेतृत्वको विपक्षी इन्डिया गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुन सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहेका छन् ।

मोदी ‘अबकी बार चार सौ पार’ को नाराका साथ अघि बढेका छन् भने राहुलले मोदी पुनस् सत्तासीन भए लोकतन्त्र खतरामा पर्ने र तानाशाही स्थापना हुने भन्दै मतदातालाई आफूतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरी १२ प्रदेशका ९३ सिटका लागि भोलि मतदान हुँदै छ । ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन् ।  असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ ।

यस्तै जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेशका गरी तीन सिटका लागि पनि मतदान हुँदै छ । केन्द्रीय गृहमन्त्री अमित शाह, समाजवादी पार्टीका प्रमुख अखिलेश यादवकी पत्नी डिम्पल यादव, शरद पवारकी छोरी सुप्रिया सुले, मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान, कंग्रेस नेता तथा पूर्वमुख्यमन्त्री दिग्विजय सिंहको भाग्यको फैसला पनि हुँदै छ ।

 

Ads

सम्बन्धित पोष्टहरू