नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। जवाफमा नेपालले ३८.१ ओभरमा चार विकेट गुमाउँदै १९९ रन बनाएर लक्ष्य पूरा गर्यो।
नेपालको जितमा इशान पाण्डे र कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पारी खेले। इशानले ६१ बलमा दुई छक्का र पाँच चौकासहित ५५ रन बनाए। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो खेलमै पहिलो अर्धशतक प्रहार गरेका हुन्।
कप्तान रोहितले ९८ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अविजित ७४ रन बनाए। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १२औँ अर्धशतक पूरा गरे।
ओपनर कुशल भुर्तेलले २८ तथा आसिफ शेखले २९ रनको योगदान दिए। आरिफ शेख आठ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरी दुई रनमै आउट भए।
स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमलेनले एक विकेट हात पारे।
यसअघि स्कटल्यान्डका ब्रान्डन म्याकमलेनले ४४ बलमा ७३ रनको आक्रामक पारी खेले। उनले ६ छक्का र ६ चौका प्रहार गरे। माइकल इङ्लिसले ५१ रन बनाए भने जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे।
नेपालका स्पिनर ललित राजवंशीले चार विकेट लिए। उनले ४७ खेलमै एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने उपलब्धि पनि हासिल गरे।
यस्तै, सन्दीप लामिछानेले तीन विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाए। उनले ७३ खेलमै १५० विकेट पूरा गर्दै मिचेल स्टार्कको ७७ खेलमा बनाएको पुरानो कीर्तिमान तोडे।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए।
यस जितसँगै नेपाल २७ खेलबाट २२ अंक जोड्दै लिग–२ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस्