रौतहट । मधेस प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथि कारबाही तीव्र ढंगले अघि बढाएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रूपमा कारबाही सुरु गरेको हो ।
प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट तीन महिनाको २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ।
यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार सात सय २० सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
गत आर्थिक वर्षको सोही अवधिमा मधेस प्रदेश ट्राफिक प्रहरीले गरेको २९ सय ६९ सवारीसाधनको कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालू आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ पुरुष, २८ महिला, सात बालक तथा ६ जना बालिकाको मृत्यु भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।
दुर्घटनामा परेर दुई हजार ५६ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ६ सय २३ जना पुरुष, चार सय ६८ महिला, दुई सय ३२ बालिका रहेको तथ्यांकमा उल्लेख । मधेस प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्