Ads

एसीसी यू- १६ इस्ट जोन कपः भुटानविरुद्ध नेपाल २९८ रनले विजयी


एसीसी यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानविरुद्ध फराकिलो जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा नेपाल २९८ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको ऐतिहासिक पारीको मद्दतले ५ विकेटको क्षतिमा ३५८ रन बनाएको हो । यससँगै भुटानले जितका लागि ३५९ रनको कठिन लक्ष्य पाएको छ ।

३५९ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भुटान ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटिएको हो । भुटानका एक खेलाडी इन्जर्ड भएकाले भुटान ९ विकेट गुमाउँदै ६० रनमा समेटिएको हो ।

भुटानलाई सस्तैमा समेट्न विपिन प्रसाद शर्माले १० ओभर बलिङ गर्दै ७ रन दिएर ४ विकेट लिए । त्यस्तै सुयोग भट्टराईले ५.४ ओभरमा १२ रन खर्चंदै २ विकेट लिए भने सचिन भट्टले ८ ओभरमा १५ रन खर्चिएर २ विकेट हात पारे ।

भुटानका लागि छिरिङ दावाले १४ र युगेन केलजाङ घोफेलले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि नेपालका लागि श्रीवास्तवले १६८ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यसक्रममा उनले १३२ रनको सामना गरे । त्यस्तै जोय थापाले ६७ बलको सामना गर्दै ६१ रन बनाउँदा सिवान्स बजगाईंले ५२ बलमा ५४ रन बनाए । त्यस्तै ३३ बल खेलका सुगम बुढाथोकीले ३५ रन जोडे ।

नेपाल समूह चरणमा अपराजित रहँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । यो जितसँगै नेपाल समूहविजेता बनेको छ ।

समूह ए बाट नेपालसहित सिंगापुर सेमिफाइलमा पुगेको छ । समूह बीबाट मलेसिया र हङकङ सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह बीमा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

Ads

सम्बन्धित पोष्टहरू