Ads

दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १४ को मृत्यु


कोरिया, । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु र १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ। भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।

दक्षिण कोरियामा बाढी र पहिरोमा परेर मृत्यु हुनु निकै दुर्लभ मानिन्छ। यस्तोमा १२ जना अझै हराइरहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ, अहिले पनि उद्धार कार्य जारी रहेको छ।

आइतवार गाप्योङ नामक पर्यटकीय शहरमा पहिरो गएको क्षेत्रबाट मानिसहरूले संघर्षपूर्ण रुपमा बाहिर निस्किरहेको तस्बिरहरु सार्वजानिक भएका थिए। पहिरोका कारण बाक्लो हिलोमा भासिएर हिँड्दै क्षतिग्रस्त पुल पार गरेर सुरक्षित स्थानतर्फ जाँदै गरेको दृश्यहरू सार्वजनिक भएका थिए भने उद्दारकर्ताहरुको ठूलो समूह परिचालित गरिएको थियो।

त्यसैगरी, देशको केन्द्रीय क्षेत्र चुंगचियोङमा शनिबार खिचिएको भिडियोअनुसार, एक सम्पूर्ण गाउँ पहिरोले बगाएर माटो र मलवामा पुरिएको देखिन्छ। बुधबारदेखि सुरु भएको भीषण वर्षापछि हालसम्म करिब १०,००० जना विस्तापित भएका छन्। उनीहरुले आफ्ना घर खाली गरेर सुरक्षित स्थानमा सरेका छन् भने ४१,००० भन्दा बढी घरधुरीमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिण र केन्द्रीय क्षेत्रहरूमा वर्षा केही कम भए पनि आइतवार राजधानी सउल र उत्तरका भागहरूमा पुनः भारी वर्षाको सम्भावना रहेको छ। बाढीले हजारौं सडक र भवनहरू ध्वस्त तथा जलमग्न बनाएका छन्। किसानका खेतबारीमा क्षति पुगेको र व्यापक रूपमा पशुहरू मरेका छन्।

धेरैजसो क्षति दक्षिणी भागमा भएको छ, जहाँ सान्चेओङ काउन्टीमा ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जनाइएको छ। राजधानी सउल नजिकैको उत्तरी पहाडी क्षेत्रका साथै पश्चिमी र उत्तरी भागहरूमा पनि मानवीय क्षति भएको छ।

गाप्योङमा आइतवार एक पहिरोले घरहरू बगाउँदा दुई जनाको मृत्यु भएको र चार जना बेपत्ता भएका छन्। ग्येओङ्गी प्रान्तको दमकल विभागका अनुसार अहिलेसम्म ६३ जनाको उद्धार गरिएको छ भने २ सय ८५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

देशका विभिन्न भागहरूमा गम्भीर पहिरोको चेतावनी जारी गरिएको छ। सरकारले आइतबारदेखि विभिन्न निकायहरू संलग्न गराई पुनःस्थापनाको संयुक्त अभियान सुरु गरेको जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू