राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन (Second World Summit on Social Development)’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै छन्।
राष्ट्रपति पौडेलले गत मङ्गलबार सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्दै विश्वभर सामाजिक न्याय, समावेशीता र समान अवसरको सुनिश्चितताका लागि सहयोग र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका थिए।
उनले विशेष रूपमा सामाजिक विकासका तीन प्रमुख स्तम्भ — गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी, र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण — सुदृढ गर्न राष्ट्रहरूबीच नीति–स्तरको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सम्मेलनका क्रममा आयोजित उच्चस्तरीय गोलमेच सत्रहरूमा समेत राष्ट्रपति पौडेलले नेपालको अनुभव र प्रयासहरू प्रस्तुत गरेका थिए। उनले नेपालको संविधानले सुनिश्चित गरेको सामाजिक न्याय, समानता र समावेशी शासन व्यवस्थाको अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उदाहरणका रूपमा प्रस्तुत गरेको बताइएको छ।
कतार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले विभिन्न देशका राष्ट्रप्रमुख र उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।
राष्ट्रपति पौडेल आज अपराह्न विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्