Ads

मोदीसँग रविको भेट


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। पाँचदिने भारत भ्रमणका क्रममा बुधबार बिहान नयाँदिल्लीमा दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको हो।

लामिछाने सोमबार भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका थिए। भ्रमणका क्रममा उनले मंगलबार भारतीय गृहमन्त्री अमित शाहसँग भेट गरेका थिए। त्यस्तै, भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन तथा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि उनले राजनीतिक तथा द्विपक्षीय विषयमा संवाद गरेका थिए।

मंगलबार साँझसम्म प्रधानमन्त्री मोदीसँगको भेट हुने वा नहुनेबारे अन्योल रहेको बताइए पनि बुधबार बिहान मोदीले समय निकालेर लामिछानेलाई भेटेका हुन्।

लामिछानेको भारत भ्रमणलाई नेपाल-भारत सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशबीचको सहकार्यका विविध आयामबारे छलफल केन्द्रित भ्रमणका रूपमा हेरिएको छ। मोदीसँगको भेटलाई भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा समेत विश्लेषण गरिएको छ।

भेटवार्ताका क्रममा के-कस्ता विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षबाट विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, पछिल्ला दिनमा भारतीय शीर्ष नेतृत्वसँग भएका लगातारका भेटघाटले लामिछानेको भ्रमणले विशेष राजनीतिक महत्व पाएको छ।

Ads

सम्बन्धित पोष्टहरू

मोदीसँग रविको भेट
मोदीसँग रविको भेट
जेष्ठ २०, २०८३