Ads

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको तयारी तीव्र


परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चीनको राजधानी बेइजिङ पुग्ने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक घोषणा नगरे पनि चीनस्थित नेपाली दूतावासले तयारीलाई तीव्र बनाएको स्रोतले जनाएको छ।

भ्रमणको पहिलो दिन मन्त्री खनालले बेइजिङमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि असार १ गते उनले चाइना एकेडेमी अफ साइन्सका पदाधिकारीसँग शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गर्नेछन्।

भ्रमणका क्रममा खनालले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहयोग तथा क्षेत्रीय चासोका विषयमा व्यापक छलफल हुने बताइएको छ।

असार २ गते आयोजित लगानी सम्मेलनमा सहभागी हुने मन्त्री खनालले नेपालमा चिनियाँ लगानीका सम्भावित क्षेत्र र लगानी विस्तारका अवसरबारे धारणा राख्नेछन्।

भेटवार्ताका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित विषय पनि उठाउने तयारी गरिएको छ। साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाबारे नेपाल सरकारको दृष्टिकोण र कार्यान्वयन अवस्थाबारे समेत छलफल हुने जनाइएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सहमति भएका टोखा–छहरे सुरुङमार्ग, जिलोङ–काठमाडौं रेलमार्ग तथा औद्योगिक पार्कलगायत पूर्वाधार परियोजनाको प्रगति समीक्षा पनि भ्रमणको महत्वपूर्ण एजेन्डाका रूपमा रहनेछ।

Ads

सम्बन्धित पोष्टहरू