काठमाडौँ, । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्।गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो।
अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा थप विनाश निम्त्याउन सक्ने जोखिम बढेको भन्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा रहन र अपरेसन रोक्न निर्देशन दिएको जनाएका छन् ।
बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा परी तिब्बततर्फ अहिलेसम्म ५५० भन्दा बढी मानिस बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेहरूमध्ये २६० जना विदेशी पर्यटक र तीर्थयात्रीहरू रहेका छन्। ती विदेशीहरूमा पवित्र कैलाश मानसरोवरको दर्शनका लागि गएका तीर्थयात्रीहरूको ठूलो संख्या रहेको बताइएको छ।
हाल अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहलाई नजिकबाट नियालिरहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनसम्म बाढीको जोखिम अझै बढ्न सक्ने अनुमान गरिएको छ।
थप क्षति हुन नदिन र सुरक्षा सुनिश्चित गर्नका लागि अहिले उक्त क्षेत्रमा मानिसहरूको आवतजावतमा समेत कडाइ गरिएको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्