Ads

आफ्नै क्षेत्रमै हारेका झलनाथ अझै पनि पार्टीका सम्मानित नेता कसरी हुन सक्लान् ?


  • शेखर अधिकारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता हुन् झलनाथ खनाल । उनी नेकपा एमालेका पूर्व अध्यक्ष र पूर्वप्रधानमन्त्रीसमेत हुन् । पार्टीमा उनको पद सम्मानित नेता हो । यो पार्टीको अध्यक्ष माधवकुमार नेपाल हुन् । खनाललाई चित्त बुझाउन नै नयाँ पद सिर्जना गरिएको जस्तो देखिन्छ ।

उनले प्रतिनिधिसभाको यो निर्वाचन हारेका छन् । इलाम १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार महेश वस्नेतसँग प्रतिनिधिसभामा पराजय भोग्नुप¥यो । एउटा क्षेत्रका जनताले नपत्याएर हारेका उनी अझै पनि पार्टीको सम्मानित नेता छन् । निर्वाचन हारिसकेपछि उनले निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा निवेदनसमेत दिएका छन् । खनालको तुलनामा एक सामान्य मानिसले उनलाई चुनाव हराइदिए । खनाल त्यो क्षेत्रबाट कहिले हार्दै, कहिले जित्दै आएका छन् । खनाल अहिले राष्ट्रपति हुने दाउमा छन् । सांसद नभए पनि राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था छ । उनी आफैंले पनि सार्वजनिक कार्यक्रममा नै अब राष्ट्रपति हुने चाहना रहेको बताएका छन् । पार्टीको केही दिनअघि बसेको बैठकले पनि भागबण्डामा आफूले राष्ट्रपति पाउनुपर्ने अडान लिएको छ ।

पार्टीले खनाललाई नै अघि सार्ने निर्णय पनि गरेको छ । खनाल फेरि पनि त्यो क्षेत्रमा गएर निर्वाचन उठ्ने आँट नगर्ने अवस्थामा पुगिसकेकाले उनले सजिलो अवतरणको प्रयास गरेको स्थानीयले बताउँदै आएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि भागबण्डामा सम्मानजनक अवस्थाको लागि सधैं प्रयत्न गरिरहने बताएका छन् । राजनीति क्षेत्रभन्दा बाहिरबाट पनि राष्ट्रपति आउने सम्भावना भएको चर्चा चल्न थालेपछि केही पार्टीहरुले भनें संसदीय प्रक्रियामा त्यो असम्भव भएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रपति देशको रक्षक हो, संविधानको पालक र सबैको अभिभावक भएकाले पनि त्यो व्यक्ति राजनीतिबाट मुक्त रहेको हुनुपर्ने व्याख्या पनि हुँदै आएको छ ।

आफ्नै गृहजिल्लामा संसदीय निर्वाचनमा पराजित भएका व्यक्तिले राष्ट्रपतिजस्तो महत्वपूर्ण पद दाबी गर्न मिल्छ कि मिल्दैन भन्ने नैतिक प्रश्न खडा भएको छ । नेपाली कांग्रेसबाट तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेलले राष्ट्रपतिको दाबी गर्दै आएका छन् । पौडेल यसअघि पनि प्रधानमन्त्रीको लागि १७ पटकसम्म प्रतिस्पर्धा गरेर पराजित भएका व्यक्ति हुन् । पौडेलले प्रधानमन्त्री पाउने सम्भावना नदेखेपछि राष्ट्रपतिमा भए पनि चित्त बुझाउने छन् । नेकपा (माओवादी केन्द्र) ले भनें राष्ट्रपति पाउने सम्भावना नभएपछि कसैको पनि नाम अघि सारेको छैन ।

सत्ता समीकरण कस्तो हुन्छ त्यसै अनुसार नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश प्रमुखसँगै २०८० को फागुन २१ गतेपछि बन्ने राष्ट्रियसभाको अध्यक्ष टुंगो लाग्ने गरी आन्तरिक सहमति जुटाउने प्रयास गरिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल २०८० को फागुन २१ मा सकिँदैछ । २०७४ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित उनको कार्यकाल ६ वर्षे रहेको थियो । राष्ट्रियसभाका सदस्यको कार्यकाल कहिलेसम्म हुने भनेर २०७५ को असारको पहिलो साता गोलाप्रथा गरिएको थियो ।

सुरुमा कार्यकालको लागि गोलाप्रथाबाट २, ४ र ६ वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यसपछि २०७६ र २०७८ मा एक तिहाई सांसदको पद रिक्त भएर फेरि त्यो ठाउँमा नयाँ प्रतिनिधि आइसकेका छन् । अब २०८० को माघमा राष्ट्रियसभाका एक तिहाई सदस्यको फेरि निर्वाचन हुँदैछ । २०७६र २०७८ बाट आउने राष्ट्रियसभाका सांसदको कार्यकाल ६ वर्षको भएजस्तै अब आउनेको कार्यकाल पनि ६ वर्षकै रहने छ । प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको रहने छ भनें राष्ट्रियसभा निरन्तर चलिरहने संवैधानिक व्यवस्था छ ।

Ads

सम्बन्धित पोष्टहरू