Ads

भारतीय विदेशमन्त्री जयशंकर भोलि आउँदै


काठमाडौं। भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउँदै छन्। नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका छन्। बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ।

बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन्।

‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीसँगै भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन्।

भारतीय वायुसेनाको विशेष विमानमा उनीहरू भाेलि बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन्। विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ। आयोगको बैठक सकेर उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू