Ads

किसान आन्दोलन : उघ्र सरकारी दमन, ड्रोनबाट अश्रुग्यास


नयाँदिल्ली \ भारतमा आन्दोलनरत किसानमाथि पन्जाब हरियाणा सीमामा ड्रोनबाट अश्रुग्यास प्रहार गरिएको छ । ‘दिल्ली चलो’ भन्ने आह्वानका साथ आन्दोलित किसानलाई पन्जाबबाट हरियाणाभित्र प्रवेश गर्न रोक्न हरियाणा सरकारले सीमामा बार र काँडेतार लगाएको छ ।

किसान आन्दोलनका कारण भारतको राजधानी दिल्लीमा ट्राफिक व्यवस्था र जनजीवन अस्तव्यस्त भएको छ । किसानको दिल्ली चलो मार्चका कारण अन्य राज्यबाट दिल्ली प्रवेश गर्ने गाजिपुर, सिंघु, शम्भु र टिकरी समेतका सबै प्रवेश नाका सिल गरिएका छन् । प्रहरी पनि व्यापक परिचालन गरिएको छ । किसानको आडमा उपद्रवीहरुले कानुनी व्यवस्थामा खलल उत्पन्न गर्ने प्रयास गरे कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

कृषि उपजको न्यूनतम समर्थन मूल्यसम्बन्धी कानून पारित गरिनुपर्नेलगायत माग राख्दै पन्जाब, हरियाणा र उत्तर प्रदेशबाट ठूलो संख्यामा किसानहरु मंगलबार दिल्लीतर्फ प्रस्थान गरेका हुन् । दुई सयभन्दा बढी किसान संगठनको यस आन्दोलनमा सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

संयुक्त किसान मोर्चा र केन्द्रीय मन्त्रीबीच सोमबार भएको वार्ता असफल भएको थियो । किसान आन्दोलनलाई ध्यानमा राख्दै दिल्ली पुलिसले राजधानीका तीन सीमानाकामा सीमित सवारीसाधन मात्र चलाउन आग्रह गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू