काठमाडौं । अमेरिकाले अवैध तरिकाले आफ्नो देशमा प्रवेश गरेका आठजना नेपालीलाई डिपोर्ट (फिर्ता) गरेको छ ।
मानव तस्करको प्रलोभनमा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकाले प्लेन चाटर्ड गरी नेपाल पठाएको हो ।
“अमेरिकाले डिपोर्ट गरेका आठजना नेपाली बिहीबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनीहरूलाई अमेरिकाले चाटर्ड प्लेनमा राखेर पठाएको थियो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमालले भने ।
डिपोर्ट भई आएकाहरूलाई आवश्यक कागजात गरी छोडिएको उनले जानकारी दिए । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेको उनले बताए ।
“गम्भीर अपराध गरेका कारण डिपोर्ट भएकाहरूलाई हामी प्रहरीलाई बुझाउँछौँ । सामान्य कारण डिपोर्ट भएकाहरूलाई छोडिन्छ,” हमालले भने ।
मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् ।
यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् । स्थानीय प्रहरीले उनीहरूलाई आवश्यक मुद्दा समेत चलाउँछ । पछिल्लो समय यसरी अमेरिका जाने धेरैलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्