काठमाडौँ । श्रीलङ्कामा औषधिको चरम अभावका कारण आज(मङ्गलबार)देखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ।
देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन् ।
बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ । श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ ।
यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो । ‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु–याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने । त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।
श्रीलङ्काका राष्ट्रपतिले शुक्रबार “सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको“ सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्