Ads

नयाँ एप थ्रेड्सविरुद्ध मुद्दा हाल्ने ट्विटरको धम्की


ट्विटरले मेटाको नयाँ एप थ्रेड्सविरुद्ध मुद्दा हाल्ने धम्की दिएको छ। मार्क जुकरबर्गको कम्पनी मेटाले आफ्नो बौद्धिक सम्पत्ति चोरेको र गोपनीय प्रविधि प्रयोग गरेको ट्विटरको आरोप छ।

बुधबार मात्रै सार्वजनिक थ्रेड्समा करोडौँ मानिस जोडिसकेका छन्।

ट्विटरका मालिक इलोन मस्कले थ्रेड्सको विकास गर्न ट्विटरका पूर्वकर्मचारीले मद्दत गरेको र त्यसक्रममा ट्विटरको ट्रेड सिक्रेट प्रयोग गरिएको आरोप लगाएका छन्।

मेटाले ट्विटरका दर्जनौं पूर्वकर्मचारीहरूलाई काममा राखेको बताइएको छ।

मेटाका अनुसार एक सयवटा देशमा एकैपटक सार्वजनिक गरिएको थ्रेड्समा हालसम्म ५ करोड बढी प्रयोगकर्ताले आफ्नो खाता खोलिसकेका छन्। प्रयोगकर्ताहरूले थ्रेड्स र ट्विटरमा समानता पाएको भन्दै प्रतिक्रिया समेत जनाइरहेका छन्।

मस्कको नखराबाट दिक्क भएका ट्विटर प्रयोगकर्ता एकैपटक सो नयाँ एपप्रति आकर्षित भएका हुन्। यो नेपालमा पनि उपलब्ध छ।

थ्रेड्समा ५ सय अक्षरसहित फोटो र ५ मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्छ। हालसम्म यसमा कुनै विज्ञापन आउँदैन र सशुल्क भेरिफिकेसनको व्यवस्था छैन। बाल शोषण, मेटाले प्रतिबन्धित गरेका विषयबाहेक यसमा अन्य विषयमा खुलेर लेख्न मिल्ने मेटाले जनाएको छ।

थ्रेड्सका प्रयोगकर्ताले केही समयपछि मास्टोडन एपका प्रयोगकर्तासँग पनि अन्तरक्रिया गर्न पाउने बताइएको छ। यसका लागि थ्रेड्सलाई एक्टिभिटी पब नामक विकेन्द्रिकृत सोसल मिडिया प्रोटोकलसँग जोडिनेछ। यस प्रोटोकल मास्टोडनसँग जोडिएकाले थ्रेड्स र मास्टोडनका प्रयोगकर्ताबीच अन्तरक्रिया सम्भव हुने भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू